क्हपुचे हिमतालमा मादी गाउँपालिकाको ३९औं बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु

Share:

पोखरा । अन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुरयाउने उद्देश्यले कास्कीको मादी गाउँपालिकाले क्हपुचे हिमतालमा कार्यपालिकाको ३९औं बैठक सम्पन्न गरेको छ ।

अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को नेतृत्वमा गाउँपालिकाका १२ वटा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत समितिहरु र कर्मचारी सहित ५० जनाको टिमले सिक्लेसबाट पैदल यात्रा गरि क्हपुचेसम्म पुगेर तालमा ऐतिहासिक बैठक सम्पन्न गरि फर्केको छ । बैठकले विभिन्न ८ वटा महत्वपूर्ण निर्णय समेत गरेको छ ।

जस अन्तरगत नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन आगामी २०७७ वैशाख १ गतेदेखि १० गतेसम्म मादी गाउँपालिकाको क्रपुडाँडा, चुम्रो, चिग्रें, तप्रोसम्म स्थानिय पर्यटन व्यवसायीहरुको साझेदारीमा विभिन्न कार्यक्रमहरुको साथ मादी पर्यटन महोत्सव २०७७ आयोजना गरिने भएको छ ।

यस्तै ध्वाँसे चितुवालाई मादी गाउँपालिकाको उत्कृष्ट जनावार र घाँटु नृत्यलाई मादीको स्थानिय मौलिक नृत्य एवम् ठेलो खेललाई मादीको स्थानिय मौलिक खेलको रुपमा घोषणा गरि तिनिहरुको संरक्षण र संवद्र्धनमा विषेश कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले यहि मंसीर ९ गतेदेखि २२ गतेसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १२ वटै वडामा उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम अन्तरगत विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस्तै गाउँपालिकाभित्र रहेका विभिन्न ढुङ्गा खानीहरुका संभावित स्थानहरुको प्रारम्भिक वातावरणिय प्रभाव मुल्याङ आईईई गरि सो सञ्चालन सम्बन्धमा गाउँपालिकाबाट कार्यविधि तर्जुमा गरि उपयुक्त स्थानहरुको ढुङ्गा उत्खनन संकलन तथा प्रशोधन गरि विक्रि, निकासी गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाभित्र रहेका १५ देखि ६० वर्ष ननाघेका पूर्णरुपले अरुको साहारामा जीवनयापन गर्नुपर्ने अपाङ्ग नागरिकहरुलाई कार्यविधि बनाई आगामी आर्थिक वर्षदेखि लागु हुने गरि गाउँपालिकाको अन्तरिक स्रोतबाट मासिक ५ सयका दरले जीवनयापन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्नका लागि डिपिआर तयार गरि जिल्ला समन्वय समिति कास्कीसँगको साझेदारीमा निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

साथै बैठकले क्हपुचे हिमताललाई कास्कीकै एकमात्र हिमताल र रामसार क्षेत्रमा सुचिकृत गर्न सिफारिस गर्ने तथा सिक्लेसदेखि क्हपुचे हिमतालसम्मको बाटो मर्मतको लागि डिपिआर तयार गरि निर्माणको पहल गर्नेनिर्णय गरेको छ ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को अध्यक्षतामा सम्पन्न भएको बैठक गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बैठक सञ्चालन गरेका थिए ।

मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने क्हपुचे हिमताल समुन्द्री सतहदेखि २ हजार ४ सय ५० मिटरको उचाईमा रहेको छ । सिक्लेसदेखि दुईदिनको पदयात्रा मार्फत हुगुहुँदै क्हपुचेमा पुग्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: