
पोखरा । दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ समावेश नहुने भएको छ । प्याराग्लाइडिङ खेल सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने तय थियो । र नाम दर्ता गर्न बुधबारसम्म अन्तिम समय तोकिएको थियो । तर नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएन । नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने निश्चित भएको जानकारी दिए ।
‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । जबकी प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपुर्याएकाले खेल नहुने भएको हो ।’ सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।
सागमा प्याराग्लाइडिङ समावेश नहुने भएपछि नेपाललाई पदक तालिकमा असर पर्नेछ । वैशाखदेखि नै नेपाली खेलाडीहरु प्रशिक्षणमा छन् । प्याराग्लाइडिङमा हामीले ८ वटा स्वर्ण मध्ये कम्तिमा ६ वटा स्वर्ण पदक जित्ने नेपालको अपेक्षा थियो । अब पोखरामा ८ खेल मात्रै हुने भएको छ ।
