
म्याग्दी- म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्। सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ। स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् ।
२९ वटा वडा सचिवविहीन भएका छन्। सात वडा रहेको धवलागिरि गाउँपालिका र पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा एक/एकजना सचिव छन् । सातवटा वडा भएको मालिका गाउँपालिकामा एकजना पनि सचिव छैनन्।
कर्मचारी समायोजनपछि वडा कार्यालय र गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी घरपायक ठाउँमा सरुवा भएर गए। वडा सचिव नहुँदा भनेको समयमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् ।
शैक्षिक योग्यता कम भएका जनप्रतिनिधि भएका वडामा झनै समस्या छ । सिमित कर्मचारीहरुलाई धेरै वडाको जिम्मेवारी दिँदा भार परेको धवलागिरि गाउँपालिकाको तीनवटा वडाको सचिवको जिम्मेवारी पाएका बेदनाथ सुवेदीले बताए।
