
पोखरा । बालाचतुर्दशी अर्थात् शतबीज छर्ने दिन । बाटोमा अन्न छर्ने यस दिन पारी जिउँदा आत्मालाई पनि सहयोग हेतु अन्नदान गरिएको छ । पोखराको महेन्द्रपुल स्थित किंग्स इन्स्टिट्युटले सोमबार पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रम पुगी चामल, दाल, तेल लगायतका अन्नदान गरेको हो ।
संस्थाकी मेनेजिङ डिरेक्टर रश्मी अधिकारी भण्डारी सहित त्यहाँ अध्ययनरत केही विद्यार्थीहरु सामान लिएर सबेरै आश्रम पुगेका थिए । ‘अन्न बाटोमा छरेर मृत आत्माको शान्तिको कामना स्वरुप शतबीज छरिन्छ । यसै दिन पारेर असहाय, बृद्ध बाबुआमालाई पनि सहयोगको उद्देश्यले यो सोच आयो ।’ भण्डारीले भनिन्– ‘विद्यार्थीहरुलाई पनि सामाजिक भावना जागृत गराउने उद्देश्यले सहभागी गरायौं । उहाँहरुले पनि सकेको सहयोग गर्नुभयो ।’
मानव सेवा आश्रममा सय भन्दा बढी आश्रित छन् । मानसिक रुपमा अस्वस्थ भएकादेखि बेवारिसे भएकाहरुलाई पनि आश्रममा राखिएको छ ।बाला चर्तुदसी पर्वको अवसरमा काठमाण्डौको पशुपति लगायतका देशभरका महादेव मन्दिरहरुमा भक्तजनहरुले पूजाआराधना गरेका छन् ।

