
पोखरा । साझा पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर दुईको उम्मेदवार बनेकी प्रखर वक्ता रजनी केसीले पूराना दलले निरन्तर गर्दै आएको विश्वासघातले गर्दा जनतामा मतदान गर्छु भन्ने भावना नै विलय भएको बताएकी छन् । मौन अवधि सुरु हुनु पूर्व बुधबार साँझ पोखराको पृथ्वीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले एकपटक साझा पार्टीलाई अवसर दिन आग्रह गरिन् ।
घरदैलोको क्रममा भेटिएका मतदाताको भनाइ उदृत गर्दै उम्मेदवार केसीले भनिन, ‘जति विश्वास गरेर पठाउँदा पनि नेता र दलहरु सुर्धेनन्, अब तराजुमा नै भोट हालेर पठाउछौँ ।’ उनले चुनावको बेलामा भोटलाई नोटसँग साट्ने परिपाटी रहेको भन्दै मतदातालाई सचेत हुन आग्रह गरिन् ।
केसीले भनिन्, ‘हजारौँका जुलुस अनि हजारौँको ¥याली । कहाँबाट आउँछ त्यत्रो पैसा ? भ्रष्टाचार नगरी त्यस्तो गर्ने पैसा आउँछ ? कम्बल बाँड्ने पैसा कहाँबाट आउँछ ? भोटलाई नोटसँग साट्ने पैसा कहाँबाट आउँछ ?’ पूराना दल र व्यक्तिगत स्वार्थका कारण राजनीति र राजनीतिज्ञ प्रतिको भरोसा नै गुमेको उनले बताइन् ।
उम्मेदवार केसीले भनिन्, ‘जसरी पूराना दल चलिरहेका छन् त्यो हेर्दा नेताहरु प्रति जनताको धारणा नै नकरात्मक भइसक्यो । राजनीतिलाई अहिले पेशा गर्नका लागि गरियो, शासक बन्न र पैसा कमाउन गरियो, म यो प्रवृत्ति परिवर्तन गरेर देखाउँछु ।’
राजनीति प्रति युवा पुस्ताको वितृष्णा बढिरहेको भन्दै उनले युवाहरुले देशको नेतृतव लिनुपर्नेमा जोड दिइन् । २०४६ साल यता देशमा शासन गर्नेहरुको कार्यशैलीले गर्दा नेपाली राजनीति प्रदुषित भएको टिप्पणी गरिन् ।
‘चल्ता हे’ को मानसिकतामा नबसौँ – संयोजक मिश्र
यस्तै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले समय परिवर्तनसँगै विचार परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘इमान कहिल्यै परिवर्तन गर्नु हँदैन तर विचार परिस्थति बदलिएसँगै बदल्नुपर्छ । जसले विचार बदल्दैन त्यो जडशुत्रवादी हो । उसले समाजलाई परिवर्तन हुन दिँदैन ।’ पहिले विकल्प नभएर कम्युनिष्ट र काङ्ग्रेस हुनुपर्ने बाध्यता साझा पार्टी आएपछि हटेकाले तराजुमा मतदान गर्न आग्रह गरे ।
‘भेनेजुएला दक्षिण अमेरिकाको सबैभन्दा समृद्ध देश थियो, आज त्यहाँ एक रुपैयाँ पर्ने सामानको एक लाख रुपैयाँ पर्छ । त्यहाँका अरबपतिहरुको सम्पत्तिको भाउ कौडीको भाउमा झरेको छ, त्यस्तो हुन्छ भनेर कसैले सोचेको थिएन, ’ देश जुनसुकै बेला देश आर्थिक संकटमा पर्न सक्ने बताउँदै उनले भने, ‘अफ्गानस्तानमा भएका करोडपति राजनीति बिग्रीए पछि शरणार्थी बने, त्यस्ता उदाहरण विश्वमा धेरै छन् । त्यस कारणले गर्दा ‘चल्ता हे’ को मानसिकतामा नबसौँ ।’
‘चल्ता हे’ को मानसिकतामा नबसौँ भन्ने उनको यो भनाइ ३० वर्षदेखि पालैपालो देशको नेतृत्व गरेका पार्टी तर्फ केन्द्रित थियो ।
‘भोट घट्ने डरले सुकुम्बासीलाई समाधान गर्न चाहाँदैनन्’
सभालाई सम्बोधन गर्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जसको सरकार बने पनि सुकुम्बासी समस्या समाधान गर्न नचाहेको बताए ।
‘यदि यो देशमा काङ्ग्रेस र एमालेको नेतृत्वमा आजसम्म चलेको सरकारले चाहेको भए १०÷२० हजार सुकुम्बासीको समस्या समाधान गर्न नसक्ने भन्ने हँदैनथ्यो,’ उनले भने, ‘तर जतिबेला यो समस्या समाधान हुन्छ त्यती बेला भोट बैंकबाट भोट घट्छ । त्यो कारणले यिनीहरु सुकुम्बासीलाई समाधान गर्न चाहाँदैनन् ।’
संयोजक खनालले चुनाव जित्नैका लागि भएपनि सकुम्बासीको समाधान गर्ने काम नभएको दाबी गरे । साझा पार्टीले चुनावी प्रचारप्रसारको अन्तिम दिन पोखराको पृथ्वी चोक, टुटुङ्गालगायतका ठाउँमा घरदैलो र चुनावी कोणसभा गरेको थियो ।
राती १२ बजेबाट मौन अवधी सुरु हँदै
मौन अवधी आज राती १२ बजेबाट सुरु हँदैछ । मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको छ । मंसिर १४ गते ३७ जिल्लाका ५२ रिक्त पदको लागि उपनिर्वाचन हुँदैछ।
मतदानको लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।
उपनिर्वाचनमा ३७ जिल्लाका २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० महिला र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन्।


