
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो ।
नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो। तर, नेपालले दोस्रो सेट २५–२३ ले हार्न पुग्यो। तेस्रो सेट २५–१९ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो। तर, चौंथो सेटमा बंगलादेशले २६–२५ को जित निकालेपछि खेल २–२ सेटको स्थितिमा पुगेको थियो।
त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५–१२ ले जित्दै बंगलादेशले नेपाललाई ३–२ को सेटमा स्तब्ध बनायो। अब नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ ।
नेपाललाई हराएसँगै बंगलादेश भने सेमिफाइनल नजिक पुगेको छ । समूह ’ए’ मा रहेको बंगलादेशले २ अंक जोडेको छ । ६ राष्ट्र सहभागी पुरुष भलिबलमा दुई समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
