
काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि शनिबार मतदान हुँदैछ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालिन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।
भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङको ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका साथै वडा नम्बर ७ को वडाअध्यक्षको लागि पनि मतदान हुनेछ ।
धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका कर्मचारी पुगिसकेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् ।
मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार नै मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि चुनाव हुँदैछ ।
प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
आठ सयसम्म मतदातालाई एउटा मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचन हुने कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् । प्रदेशसभाको तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।
तीनवटै तहका गरी ३ सय ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् । देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
