दुई घण्टा लामो ‘सिल’ विवाद समाधान भएपछि कास्की-२ को मतगणना सुरु

Share:

पोखरा । दुई घण्टा लामो विवाद समाधान भएपछि कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्नेे भनेको थियो । तर, मत गणना साढे एक बजेबाट सुुुुरु भएको हो ।

मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा सुरु भएको हो । वडा नम्बर ३३ बाट मतगणना सुरु भएको छ ।

मतदान केन्द्रबाट उठाइको मुचुल्का जानकारी नगराइए पछि पहिलो विवाद सुरु भएको थियो ।

समाजवादी पार्टीका उम्मेदवार प्रतिनिधि टिकाराम पौडेलले वडा नम्बर ३३ का सबै मतपेटिकामा खसेको मत जानकारी गराउन माग गरेका थिए ।

सम्बन्धित पक्षले तपाईं आफैं जोड्नुस भनेपछि विवाद चर्कियो । त्यो विषय समाधान भएपछि मत पेटिकाको शिल नम्बर जानकारी गराउन उम्मेदवारका प्रतिनिधिले माग गरेका थिए ।

निर्वाचन अधिकृतले आफ्नै प्रतिनिधिसंग सिल नम्बर माग्न भनेको थियो । सिल नम्बरको प्रतिलिपी नदिएपछि फेरि विवाद सुरु भयो । नयाँ निर्वाचन निर्देशिकामा सिल नभए पनि केहि फरक नपर्ने उल्लेख छ ।

पछि मुचुल्काको क्रममा रहेको सिल नम्बर रुजु गराउने सहमति भएपछि विवाद साम्य भएको हो ।

तारजाली लगाएर मतगणना सुरु गरिएको छ । कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् ।

कास्की २ मा ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो ।

पुरुष २० हजार ७ सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसालेका छन् । कास्की दुईमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

२०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । पहिले ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ । उनकै उत्तराधिकारी चयनका लागि आज मतदान भएको हो । विहानैदेखि निरन्तर रुपमा बम पड्किएका कारण कम मत खसेको हुनसक्ने अनुमान छ ।

४ ठाउँमा बम विस्फोट !

शनिबार पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटका घटना भएका थिए ।

पोखरा १६ को शान्ती मावि मतदान स्थल र चण्डिका आधारभूत मतदान स्थल, पोखरा ३३ को सरस्वती टिका मावि मतदान, पोखरा ९ को नवप्रभात मावि मतदान स्थल नजिकै बम विस्फोट भएको थियो ।

गएको निर्वाचनको मत

२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।

अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: