
सुनसरी । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ । राटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई आज(सोमबार) बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्न खोजेको थियो । तर स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो ।
यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ । सुनसरीको चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२० का कृष्ण दासले आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।
पक्राउ परेका दासलाई एम्बुलेन्समा राखेर अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ । उनलाई आज नै जिल्ला अदालत लगी म्याद थप गरिने जनाईएको छ ।
