
पोखरा । पोखरामा आइतबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सुरु भए पनि उक्त खेलको औपचारिक उद्घाटन सोमबार (आज) निकै तामझामका साथ हुने भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्ने भएका छन् ।
७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला यतिबेला सिंगारिएको छ । रंगशालाको मूल गेटमा नेपाल सहित सागमा सहभागि ७ वटै देशको झण्डा सहित विभिन्न रंग रोगन र झिलिमिलि बत्तिले सिंगारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल हान्दै गरेको वोर्ड सहितको रंगशालाको मूल गेटको दायाँ बायाँ विभिन्न फूल रोपिएको छ भने नेपालको राष्ट्रिय झण्डासहित, ओलम्पिक झण्डा र सागमा सहभागि राष्ट्रको झण्डा समेत फहराइएको छ ।
पोखरा रंगशालामा महिलातर्फको फुटवल, क्रिकेट, ह्याण्डवल, आर्चरी र व्याडमिन्टन हुने भएको छ । पोखरा रंगशाला बाहिर भारतोलन, ट्रायथालन र बिच भलिवल हुने भएको छ ।
उद्घाटन समारोहमा सातै देशका खेलाडीहरुको मार्च पाससहित विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ । सातै देशको कला संस्कृति झल्कने नृत्यदेखि पोखरा र गण्डकी प्रदेशकै जनजाति र भेषभुषा झल्कने गरी २० वटा भन्दा बढी झाँकी समेत प्रदर्शन गरिने राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने ८ खेलमा एक सय ५१ पदकको लागि प्रतिष्पर्धा हुनेछ ।
