१३ औं साग : भोलिदेखि आर्चरी सुरु हुने, पाकिस्तान सहभागि नहुने

Share:

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान सहभागि नहुने भएको छ ।

मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

प्रतियोगिता विहिबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउण्ड सुरु हुने भएको उपाध्यक्ष थकालीले बताए । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने भएको छ ।

त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने भएका हुन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ । विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागी नहुने भएको छ ।

अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागि नहुने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले उक्त निर्णय गरेको हो ।

राखेपसंग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो ।

पोखरामा आर्चरी यही मंसिर २३ गतेसम्म हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिष्पर्धा हुने भएको छ ।

सहभागी देशका खेलाडीहरुले बुधबार प्रतियोगिता स्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: