साढे दुई घण्टा बन्द उडान-अवतरण सुचारू

Share:

पोखरा । करिब साढे दुई घण्टा बन्द भएको पोखरा विमानस्थलको उडान-अवतरण सुचारू भएको छ । वर्षाका कारण शुक्रबार बिहान साढे ९ बजेबाट उडान-अवतरण बन्द भएको थियो ।

सवा १२ बजेबाट उडान सुचारू भएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले बिगखबरलाई जानकारी दिए । ‘वर्षाका कारण बिहान साढे ९ बजेबाट कुनै उडान भएको थिएन,’ उनले भने, ‘सवा १२ बजेबाट पुन उडान सुचारु भएको छ ।’

उनका अनुसार दिउँसो एक बजेसम्म बुद्ध र यति एयरले तीन/तीन वटा उडान भरेका छन्। पानी पर्दा सबै उडान बन्द हुने गरेका छन् ।

यो विमानस्थललाई राजधानी बाहिरको व्यस्त विमानस्थल मानिन्छ। पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।

विमानस्थलबाट बुधबार र बिहिबार २४/२४ उडान भएको थियो । अहिले पनि पोखरामा झरी परिरहेको छ। पोखरा विमानस्थलबाट साँझा ५ बजे अन्तिम उडान हुन्छ ।

पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै देशैभरको जनजीवन प्रभावित भएको छ । आज बिहानैदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: