धनगढीको विजयी सुरुवात, विराटनगर ५ रनले पराजित

Share:

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ । सोमबारको पहिलो खेलमा विराटनगर टाइटान्सलाई पराजित गर्दै धनगढीले सुखद सुरुवात गरेको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले विराटनगरलाई ५ रनले हराएको हो । सुरुवाती क्रम चुक्दा विराटनगर खेलमा फर्कन सकेन।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा ११७ रन बनाएकोे थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले पुरै २० ओभर खेल्दा ११२ रन बनायो ।

धनगढीको जितमा कमल सिंह ऐरीले सर्वाधिक २६ रन बनाए । श्रीमन्थ विजयारत्नेले २५ रन बनाए । यस्तै रोडृगो थोमसले १६ रन बनाउने बाहेक अरुको प्रदर्सन उल्लेख्य रहन सकेन ।

विराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। नोमान यादवले २ विकेट लिए। यस्तै किशोर महतो,जैद आलम, पुनित मेहेराले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि राजु रिजालले २२ बलको सामना गर्दै २५ रन बनाए । उनले एक छक्का र दुई चौका प्रहार गरे ।

यस्तै सुनिल धमलाले १८ रन बनाए । २१ बल खेलेका उनले एक/एक चौका र छक्का हाने । टिमका लागि पुनित मेहेराले १५, नोमन खानले ११ र कप्तान प्रदिप सिंह ऐरीले १० रन जोडे ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट हात पारे । यस्तै सागर ढकालले २ विकेट हात पारे । कमल सिंह ऐरी, अनिल खरेल र अमित यादवले समान १-१ विकेट लिए ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

यो पनि::

पीपीएल-२ : जितका लागि विराटनगरलाई ११८ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्
Share: