
पोखरा । कास्कीका एक युवकसहित दुई जना लागुऔषधसहित पाल्पाबाट पक्राउ परेका छन् ।
कास्कीको मादी गाउँपालिका–९ वस्ने ३१ वर्षीय किरण गुरुङ र स्याङ्जा घर भई पोखरा-१७ बस्ने २२ वर्षीय विशाल नेपाली पाल्पाको झुम्सामा सोमबार लागुऔषधसहित पक्राउ परेका हुन् ।
सोमबार बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्कीका गुरुङको शरीरमा खानतलासी गर्दा ६८ डाइजेपाम, ६८ नुफिन, ६८ फेनेरागन दुई एम एलको सिसी, नगद रु १५ हजार बरामद गरिएको छ ।
यस्तै नेपालीका साथबाट ग १८ प ८९ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब तथा रु एक हजार एक सय बरामद भएको छ ।
उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
दोभान प्रहरी चौकीका प्रमुख बलबहादुर घर्तीको नेतृत्वमा जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
File Photo
