
पोखरा । कास्की क्षेत्र नं. २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन्। उनलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद भट्टराईले कानुन निर्माणका विषयमा आफ्नो प्राथमिकता रहने बताइन् । चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता उनले व्यक्त गरिन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए। तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो।
