
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) मा काठमाडौँ गोल्डेन्सले पहिलो जित दर्ता गरेको छ । बुधबार पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा धनगढी ब्लुजलाई १०६ रनले पराजित गर्दै काठमाडौँले पहिलो जित हात पारेको हो । १ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले ७९ रन मात्र बनाउन सक्यो ।
पहिलो खेलमा पोखरा पल्टनससँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । धनगढीको सुरुवात राम्रो हुन सकेन । धनगढीका ओपनर सन्दिप सुनार खाता नखोली आउट हुन पुगे । चार बल खेलेका सुनारलाई अमृत भट्टराईले अमित श्रेष्ठको हात बाट क्याच आउट गराए । यस्तै श्रीमन्था विजयारत्नेले १५ रन बनाएर आउट भए । १२ बल खेलेका उनी पवन सराफको सिकार बने ।
रोड्रिगो थोमस भने १४ बलमा १० रन बनाएर आउट भए । उनलाई बसन्त रेग्मीको बलमा पवन सराफले उत्कृष्ट क्याच आउट गराए । सन्दिप जोराले ७ बलमा ६ रन बनाउँदा सुसान भारीको सिकार बन्न पुगे । यस्तै अमित यादव ३ रनमा आउट भए । उनलाई बसन्त रेग्मीले आउट गराएका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले ८ रन मात्र बनाउन सके । उनलाई बसन्त रेग्मीले सिकार बनाए । सौरभ खनाल ९ रनमा रन आउट हुँदै पभेलिएन फर्किए ।
कमल सिंह ऐरीले १५ बलमा २ रन मात्र गराउन सके । उनलाई पवन सराफले गौरभ तोमरको हात बाट आउट गराए ।धनगढीका लागि बिक्रम ठगुन्नाले ९ रन बनाए । उनलाई सुबोध भाटीले बोल्ड आउट गराए । सागर ढकालले ६ रन बनाउन सके । काठमाडौँका लागि बसन्त रेग्मीले ३ विकेट हात पारे । पवन सराफ र सुवोध भाटीले २ विकेट लिँदा अमृत भट्टराई, सुसान भारीले समान एक एक विकेट लिए । यसअघि पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ५ विकेटको क्षतिमा १८५ रन बनाएको हो ।
काठमाडौँले सुरुमै आफ्नो ओपनरलाई गुमाएको थियो । आफ्नो पारीको तेस्रो बलमा काठमाडौँका ओपनर गौरव तोमर शुन्यमा आउट भएका थिए । तोमरलाई कमल सिंह ऐरीले कप्तान दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए ।काठमाडौँका अर्का ब्याट्सम्यान अमित श्रेष्ठ ब्यक्तिगत ३४ रन बनाएर आउट हुन पुगे । उनले ६ चौका र १ छक्काका साथ आक्रामक पारी खेलेका थिए ।
जयकिसन कोल्सवालासँग उत्कृष्ठ साझेदारी गरेका अमितलाई सागर ढकालले आउट गराए । कोल्सवालासँग ५१ रनको साझेदारी गरेका अमितलाई सागरले बिक्रम ठगुन्नाको हातबाट उत्कृष्ट क्याच आउट गराए । काठमाडाँैका २ ब्याट्सम्यान आउट भएपछि आएका कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेले । ज्ञानेन्द्रले जयकिसन कोल्सवालासँग १३१ रनको साझेदारी गरे । ३८ बल खेलेका उनले ८ चौका र ९ छक्काको सहयोगमा १०० रन बनाएका हुन् ।
यस्तै जयकिसन कोल्सवालाले ३६ बलमा ४६ रन बनाए । यो सतक पीपीएलकै पहिलो शतक समेत हो । ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा आउट भएका थिए । धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । आज नै हुने अर्को खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन्स आमनेसामने हुँदै छन् । यो खेल दिउँसो सवा एक बजे सुरु हुने छ ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
