विराटनगरले घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले हरायो

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)को चौँथो दिनको दोस्रो खेलमा विराटनगर टाइटन्स विजयी भएको छ । बुधबार पोखरा क्रिकेट रङगशालामा भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत हात पारेको हो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १० विकेट गुमाउँदै केवल एक सय रन बनाउन सक्यो । पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । ३८ बल खेलेका उनी जैद आलमको बलमा आउट हुनु पुर्व ३ चौका र १ छक्का प्रहार गरेका थिए । कुशल भुर्तेल २४ रन बनाएर आउट भए । १३ बल खेलेका उनले १ चौका र ३ छक्काको सहयोगमा २४ रन बनाए । कुशललाई जितेन्द्र मुखियाले आउट गराएका थिए ।

आसिफ शेख २२ बलमा १३ रन बनाउँदै आउट भए । उनी शाहब आलमको सिकार बन्न पुगे । यस्तै भारतीय खेलाडी रविइन्द्र सिंह समेत मुखियाको बलमा क्लिन बोल्ड भए । कुशल मल्लले खाता खोल्न सकेनन् । उनलाई नोमान खानले एलबिडब्लु आउट गराए । यस्तै कप्तान शरद भेष्वाकार समेत शुन्यमा आउट हुन पुगे । उनलाई मोहम्मद जैद आलमले एलबिडब्लु आउट गराएका थिए ।

विनोद भण्डारी ९ बलमा ४ रन बनाउँदै आउट भए । उनलाई पुनित मेहेराले क्लिन बोल्ड गराएका थिए । पोखराका प्रथामेश डाके ३ रनमा आउट भए । उनलाई प्रदिप ऐरीको हातबाट किशोर महतोले आउट गराए । राशिद खानलाई समेत महतोले राजेश पुलामीको हातबाट क्याच गराउँदै पभेलियन फर्काइदिए । पोखराका लागि सर्वजित लड्डाले ३ रन बनाउँदा ललित राजवंशीले १ रन बनाए ।

विराटनगरका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिँदा जितेन्द्र मुखिया, मोहम्मद जैद आलमले समान २–२ विकेट लिए । शाहब आलम, नोमान खान, पुनित मेहेरोको नाममा समान एक–एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरा २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहेराले अर्धशतक बनाए । २६ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाएका हुन् ।

सुनिल धमलाले ३६ रन बनाए । उनले ४० बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी सर्वजित लड्डाको सिकार बन्न पुगे । मुहम्मद जैद आलम २६ रन बनाएर आउट भए । २७ बलमा २ चौका र २ छक्का प्रहार गरेका आलमलाई कुशल मल्लले प्रथामेश डाकेको हातबाट क्याच आउट गराए । प्रदिप ऐरी ६ रन बनाउँदा रन आउट हुन पुगे । लोकेश बमलाई पोखराका कप्तान शरद भेष्वाकारले २ रनमै पभेलियनकै दिशा देखाए । यस्तै नोमान खान १ रन बनाएर अउट भए ।

उनलाई समेत कप्तान भेष्वाकारको बलमा आसिफ शेखले क्याच आउट गराएका थिए । यस्तै राजु रिजालले ९ रन बनाए । पोखराका लागि शरद भेष्वाकारले २ विकेट लिए । यस्तै कुशल मल्ल, सर्वजित लड्डाले एक–एक विकेट लिए ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: