पोखरामा अन्तर्राष्ट्रिय हप्किडो सेमिनार, ६ सय जना सहभागी हुने

Share:

पोखरा । पोखरामा प्रथम अन्तर्राष्ट्रिय मार्शाल आर्ट्स हप्किडो सेमिनार हुने भएको छ । नेपाल मार्शाल आर्ट्स हप्किडा संघको आयोजनामा माघ ११ र १२ गते सेमिनार हुने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

दुई दिने सेमिनारमा विभिन्न २५ राष्ट्रका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सय जना सहभागी हुने संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जानकारी दिए । सेमिनारमा अमेरिका, रसिया, अष्ट्रिया, दक्षिण कोरियाका ग्राण्ड मास्टर र आठौँ सागमा नेपाललाई स्वर्ण दिलाउने बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने छन् ।

यस्तै संघका अध्यक्ष घर्ती मगरले पनि प्रशिक्षण प्रदान गर्ने छन् । यो सेमिनारले आत्मरक्षा र सामाजिक अनुशासन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । सेमिनारले भ्रमण वर्ष प्रवर्धन र खेलाडीको आत्मबल बढाउने अध्यक्ष घर्ती मगरले बताए ।

यसअघि तीन वर्ष पहिले राष्ट्रिय हप्किडो संघले राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो । दुई वर्ष पहिले जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो भने गएको कार्तिकमा रोल्पामा सहिद स्मृति मार्शाल आटर््स हप्किडो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । सेमिनार गर्न करिब ४० लाख खर्च लाग्ने संघको अनुमान छ ।

के हो हप्किडो ?

विश्वमा लामो इतिहास बोकेको यो खेल बारे धेरै परिचित छैनन् । अन्य खेलको जस्तो चर्चा पनि छैन् । हाप्किडो कोरियन मार्शल आर्टको प्रकार हो जुन जापानी मार्शल आर्टको विकसित रुप हो । यसमा खेलाडीले रसि, चक्कु जस्ता औजार प्रयोग गर्न सक्छन् ।

मार्शल आर्ट भएको व्यक्तिसँग लड्नका लागि यसको निर्माण भएको बुझिन्छ । यो मार्शल आर्टकै अङ्ग भएपनि यसलाई मार्शल आर्ट विरुद्द लड्ने शैलीका रुपमा पनि लिन सकिन्छ । हाप्किडोलाई चोइ योंग शुलले दोस्रो विश्व युद्द पछि जापानबाट कोरिया फर्केपछि सिकाएको मानिन्छ ।

यसलाई विस्तृत शक्तिको बाटो भनेर उल्था गर्न सकिन्छ । हाप्किडोलाई टुक्राएर हेर्दा हाप् को अर्थ शान्ति, ‘कि’ को अर्थ शक्ति र ‘डो’ को अर्थ बाटो भन्ने अर्थ लाग्छ । नेपालमा नेपाल मार्सल आर्टस् हाप्किडो संघ २०७३ सालमा विधिवत दर्ता भएको थियो । त्यसयता नेपालमा यो खेल विकासका लागि प्रयास गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: