
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौँ गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई हराएको छ । पोखरा क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमाडौँले विराटनगरलाई ३६ रनले हराएको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले १९.४ ओभरमा अलआउट हँदै १ सय २३ रन जोड्यो ।
विराटनगरका लागि पुनित मेहराले अर्धशतकीय इनिङ्स खेले । उनले ३१ बलको सामना गर्दै ३ छक्का र ३ चौकाको सहयोगमा ५३ रन जोडे । कप्तान प्रदीप ऐरीले २९ रनको योगदान गरे । २७ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरे । नोमन खान २६ बल खेल्दा २५ रन बनाएर रन आउट हुन पुगे । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । यस्तै अमर रौटेला र वसन्त रेग्मीले समान २÷२ विकेट लिए । अमृत भट्टराई र सुशन भारी एक÷एक विकेट लिन सफल भए । ३ ओभर बलिङ गरेका पवन शर्राफले २३ रन खर्चिए ।
यसअघि टस जितेर ब्याटिङ सुरु गरेको काठमाडौँले ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । काठमाडौँका लागि जयकिशन कोल्सवालाले अर्धशतक बनाए । उनी ४३ बलमा ५५ रन बनाउँदै पवेलियन फर्किए । उनले ५ चौका र २ छक्का हाने । कप्तान ज्ञानेन्द्र मल्ले ३३ बलमा ४५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौँका लागि अमित क्षेष्ठले १७ रन बनाए । १५ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरे ।
ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका गौरव तोमारले खाता खोल्न सकेनन् । एक ओभर खेलेका उनलाई किशोर महतोले आउट गराए । यस्तै सुवोध भाटी ९ बलमा १४ रन बनाउँदै आउट हुन पुगे । विराटनगरका लािग पुनित मेहराले २ विकेट लिए । यस्तै किशोर महतो र नोमन खानले समान एक÷एक विकेट लिन सफल भए ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेल खेल्दा दुई खेलमा पराजय व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । यस्तै प्रदीप ऐरी कप्तानी रहेको विराटनगर टाइटन्सले दुई खेल खेल्दा एक खेल जितेको छ भने एकमा पराजित भएको छ । काठमाडौँको यो दोस्रो जीत हो । ४ खेल खेलेको काठमाडौँले २ खेलमा पराजय व्यहोरेको छ ।
यो जीतसँगै काठमाडौँको ४ अंक भएको छ र अंक तालिकको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको विराटनगरले ३ खेल खेल्दा २ अंक जोडेको छ । विराटनगर अहिलेसम्म दुई खेलमा पराजित भएको छ । अहिलेसम्मको खेलको नतिजा हेर्दा चितवन राइनोजले फाइनल खेल्ने पक्का छ । तीन खेल खेलेको चितवन अहिलेसम्म अपराजित छ । चितवन तीन खेलमा ६ अंक जोड्दै अंक तालिकको शीर्ष स्थानमा छ । तीन खेलमा दुई खेल जितेको बुटवल तेस्रो स्थानमा रहँदा चार खेलमा एक खेल जितेको घरेलु टोली पोखरा पल्टन पाँचौ स्थानमा छ ।
तीन खेल खेल्दा एक खेल मात्र जितेको धनगढी भने तालिकको पुछारमा छ । प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुने छन् । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर टाइटन्स र चितवन राइनोज खेल्दा दिउँसो १२ः४५ बजे बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी खेल्ने छन् ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वािधक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
