
पोखरा । घरेलु टोली पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) बाट बाहिरिएको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको खेलमा धनगढी ब्लुजसँग ५ विकेटको हाल व्यहोर्दै पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
साविकको विजेता रहेको पोखराले दिएको ८० रनको विजयी लक्ष्य पछ्याएको धनगढीले ९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । धनगढीले आफ्नो ओपनर रोड्रिगो थोमसलाई प्रथम विकेटको रुपमा गुमाएको थियो । थोमसले १० बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उनलाई प्रथामेश डाकेले तेस्रो ओभरको तेस्रो बलमा डाकेले रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।
यस्तै टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी व्यक्तिगत १३ रनमा आउट हुन पुगे । १० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए । पाँचौ ओभरको तेस्रो बलमा उनी प्रथामेश डाकेको बलमा कुशल भुर्तेलको हातबाट क्याच हुन पुगेका थिए । दिपल पुनिया २५ रन बनाएर आउट हुन पुगे । १६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । उनलाई सर्वजित लड्डाले आठौँ ओभरको पहिलो बलमा आउट गराए । त्यसलगतै सुवेन्दु पाण्डे ११ रन बनाउँदै आउट भए । उनलाई आठौँ ओभरको दोस्रो बलमा लड्डाले भुर्तेलको हातबाट क्याच गराए ।
धनगढीका लागि सन्दिप जोराले २ रन बनाउँदा आउट भए । उनलाई ललित राजवंशीेले खेलको ९ औं ओभरको तेस्रो बलमा आसिफ शेखको हातबाट आउट गराए । मन्जित श्रेष्ठले ९ रन बनाए । यस्तै अमित यादवले ६ रन बनाएका थिए । पोखराका लागि प्रथामेश डाके, सर्वजित लड्डाले २ विकेट लिए । यस्तै ललित राजवंशीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७९ रन बनाएको हो । पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । अरुको प्रदर्शन उल्लेख्य रहेन । पोखराका ओपनर कुशल भुर्तेल ६ रनमै पभेलियन फर्किए । ७ बल खेलेका उनले १ छक्का प्रहार गरेका थिए । उनी दोस्रो ओभरको दोस्रो बलमा कमल सिंह ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भएका थिए ।
पोखराका कप्तान शरद भेष्वाकर ३ बलमा ४ रन बनाउँदै हिट विकेट हुन पुगे । तेस्रो ओभरको तेस्रो बलमा उनी दिपल पुनियाको बलमा लामो शट खेल्ने चक्करमा हिट विकेट हुन पुगे । शरद आउट भएपछि क्रिजमा उत्रेका भारतीय खेलाडी रविइन्द्र सिंह डक आउट हुन पुगे । उनी तेस्रो ओभरको पाँचौ बलमा दिपल पुनियाको बलमा विकेटकिपर शुभेन्दू पाण्डेको हातबाट क्याच आउट भएका थिए ।
पोखराका विनोद भण्डारी १२ रन बनाउँदै आउट हुन पुगे । आठौँ ओभरको अन्तिम बलमा भण्डारी अनिल खरेलको बलमा आउट भए । कुशल मल्ल २ रन बनाउँदै रन आउट हुन पुगे । ६ बल खेलेका उनी रन आउट भएका थिए । कृष्ण कार्कीले १ रन मात्र बनाउन सके । ११ औँ ओभरको अन्तिम बलमा उनी सागर ढकालको बलमा दिपल पुनियाको हातबाट क्याच आउट हुन पुगेका थिए ।
रोहित कुमार पौडेलले खाता खोल्न सकेनन् । उनी समेत ढकालको बलमा फिर्दोश अन्सारीको हातबाट क्याच आउट भए । यस्तै आसिफ शेख ३२ रन बनाएर आउट भए । २९ बल खेलेका उनले ४ चौका प्रहार गरेका थिए । बाह्रौँ ओभरको पाँचौ बलमा उनी अनिल खरेलको बलमा एलबिडब्लु आउट भएका थिए ।
यस्तै प्रथामेश डाके २ रन बनाउँदै आउट हुन पुगे । उनी १४ औँ ओभरको पहिलो बलमा अनिल खरेलको बलमा बोल्ड आउट भएका थिए । पोखराका लागि सर्वजित लड्डाले ४ रन बनाउँदा ललित राजवंशीले १ रन बनाउन सके । धनगढीका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । दिपक पुनिया, सागर ढकाल, कमलसिंह ऐरीलले समान २–२ विकेट लिए ।
पाँचौं स्थानको धनगढीको प्ले अफ सम्भावना भने कायम छ । धनगढीले मंगलबार हुने चितवन र काठमाडौंबीचको खेलको नतिजा पर्खनुपर्छ । मंगलबार काठमाडौं गोल्डेन्स फराकिलो अन्तरले पराजित भए धनगढीको प्लेअफ सम्भावना जीवीत रहन्छ । धनगढीलाइ त्यतिले मात्र पुग्दैन । यसबाहेक बुधबारको खेलमा विराटनगर बुटवलसँग पराजित हुनुपर्छ ।
प्रतियोगितामा पोखरा र धनगढीबाहेक अन्य टोलीले ४/४ खेल खेलेका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको चितवन राइनोज भने फाइनल प्रवेश गरिसकेको छ । ४ खेल खेल्दा सबै खेल जितेको चितवनको ८ अंक छ । बुटवलले ३ खेलमा जित र एक खेलमा पराजय व्यहोर्दै ६ अंक जोडेको छ । काठमाडौं गोल्डेन्सले २ खेल जितेर ४ अंक बनाएको छ । विराटनगरको २ अंक बनेको छ ।
