
काठमाडौँ । हाल देशका पहाड तथा तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावले पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिनभर देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुनेछ । राति मध्य र पूर्वमा आंशिक बदली तथा बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी–हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
