
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ। यही पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।
पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।
तर, यो अवधिमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गराउने नेकपाको तयारी पूरा हुन सकेन । आज बैठक सुरु हुनुअघि उपसभामुखले राजीनामा नगरेमा सभामुख चयन प्रक्रिया अघि नबढ्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।
नेकपामा सभामुख पदका लागि पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य अग्नी सापकोटाको चर्चा छ। सभामुखको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
यौन दुराचारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १८ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।
