
डोटी । डोटी जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने भन्दै प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा भएका छाउगोठका बारेमा समेत प्रहरी प्रशासनले तथ्यांक संकलन गर्न सुरु गरेको छ ।
छाउपडी प्रथाका कारण सुदूरपश्चिमभरिमा हालसम्म १२ भन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न संघ संस्थाको तथ्यांकमा उल्लेख छ । महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्थाका कारण महिला बलात्कारको शिकार हुनेजस्ता घटना हुँदै आए पनि त्यसको रोकथामका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ ।
महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी प्रथा कायमै रहेको केआइसिंह गाउँपालिकाका स्थानीयवासी चेतराज भट्टले बताए ।
गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई नष्ट गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय डोटीले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न आग्रह गरेको छ ।

