लेखनाथ महोत्सवमा पिङ २० मिनेट टुप्पोमै उल्टो अवस्थामा अड्किएपछि …

Share:

लेखनाथ । पोखराको लेखनाथमा जारी १६ औं लेखनाथ महोत्सव यस क्षेत्रकै सर्वाधिक दर्शक भित्राउने सफल महोत्सव हो । स्थायी स्थानको अभावमा ठाउँ सरिरहेपनि लेखनाथ महोत्सवमा अत्यधिक दर्शकको चाप हुन्छ । यो पटक पनि सफल रुपमा मेला चलिरहेको छ ।

तर, शनिबार भने महोत्सवलाई खल्लो बनाएको छ । बिदाको दिन दर्शक उर्लिएका थिए । महोत्सवमा गएका दर्शकहरु आफूलाई मनपर्ने सामानको किनमेलदेखि, खेल तथा सांस्कृतिक प्रस्तुतिमा रमाईरहेका थिए । यहाँ नयाँ रहेको एउटा पिङ खेल्न पनि उत्तिकै लाइन थियो । जुन पिङ बन्द पिँजडाभित्र झण्डै ८५ डिग्रीसम्म आकाशमा धकेलिने डरलाग्दो पिङ हो । सोहि पिङमा १६ जना खेलिरहेको बेला २० मिनेटसम्म माथि टुप्पामा पुगेर अड्कियो । त्यस भित्र रहेकाहरु खुट्टा माथि रहेको अवस्थामा थिए । ३० फिट उचाईं, त्यसमाथि उल्टो अवस्थामा रहँदा उनीहरु सबै रोई कराई गर्न थाले । रक्तसञ्चारमा यसले अवरोध गर्दछ ।

पिङलाई डोरीको सहायताबाट तल झारेर फसेका १६ जनाको उद्धार गरिएको थियो । उद्धार पछि स्वास्थ्यमा समस्या देखिएका १० जनाको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ । अस्मिता क्षेत्री र शिक्षा अधिकारी उपचाररत छन् भने कबिता आले, अनिता तिमिल्सिना, सन्तोषी तिमिल्सिना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचार पछि घर फर्किएको रेडियो लेकसिटीका संवाददाताले जनाएका छन् ।

पिङ हाइड्रोलिकको समस्याले माथि अड्किएको हुन सक्ने र यस बिषयमा बाल उद्यान संचालकसँग थप बुझ्ने काम भैरहेको संघका अध्यक्ष बलराम ढकालले प्रतिक्रिया दिए । महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आक्रोश समेत पोखेका थिए ।

 

पिङमा रहेका पोखरा २९ का प्रकाश पौडेलले थप केही समय उद्धार हुन नसकेको भए ठूलै दुर्घटना हुने बताए । उनले शुरुमा त पिङ रोकिएको होला भनेर मजाक गरीरहेको तर समय लामै भएपछि पिङमा रहेका सवै आत्तिएर रुन कराउन थालेको बताए ।

महोत्सवमा ठुलो दुर्घटना हुनबाट जोएिको भन्दै थप सजगता अपाईने बाल उद्यान संयोजक धिरज श्रेष्ठले बताए ।  बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सावधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् ।

अहिले पिङ बन्द गरिएको छ । केहि वर्ष अघि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा पनि कार र बाइक भित्तामा गुडाउने सर्कसको संरचना कमजोर हुँदा भत्किएको थियो र आधा दर्जन बढी घाईते हुन पुगेका थिए ।

पोखरामा मेला महोत्सव सुरु भईसकेका छन् । महोत्सवका आयोजकहरुले सुरक्षालाई पहिलो प्राथमिकता दिई दर्शकको स्वास्थ्य र जोखिमप्रति सावधानी अपनाउनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: