

अनुप पौडेल, पोखरा । कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने चिजा कुमारी वि.कको हत्या गरेको आरोपमा म्याग्दीका खिमबहादुर श्रीपालीलाई पक्राउ गरेको छ । ३९ वर्षीया श्रीपालीलाई प्रहरीले तनहुँको ब्यास नगरपालिका–२ उत्तरसिला फिल्म हल नजिकैबाट शनिबार समातेको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–५ घर भई पोखरा–२५ हेम्जा बस्ने उनलाई कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीकाअनुसार ६६ वर्षीया चिजाको हत्या गरेका उनी हत्या गरेर तनहुँ पुगेका थिए । हत्या भएको दुई दिन पछि मात्र स्थानीय र प्रहरीले थाहा पाएका थिए ।
अनुसन्धान थालेको चौँथो दिनमा प्रहरी हत्यारा समात्न सफल भएको हो ।
हत्या गरेर तनहुँ पुगेका थिए श्रीपाली
श्रीपाली गएको आइतबार राति ८ बजे चिजाको घर पुगे । चिजाका नाती पनि त्यहीँ थिए । रक्सीको तालमा गफिरहेका उनले यतै बस्नु प¥यो भनेपछि नातीले सुत्ने व्यवस्था मिलाइदिए । त्यसपछि चिजाका नाती त्यहाँबाट निस्किए ।
नाती त्यहाँबाट निस्किएपछि गफैगफमा उनले दुई किलोको ढुङ्गा चिजाको टाउकोमा बजारे । चिजा भुइँमा लडिन् । श्रीर्पालीले उनलाई हेरे । सास गइसकेको चेत पाए । त्यसपछि खाटमा लगेर सुताइदिए । चिजाले लगाएको गहना लिए ।
त्यसपछि ६ वटा सिरकले उनलाई छोपे अनि त्यहाँबाट भागे । ‘नाती त्यहाँबाट निस्किएपछि ढुङ्गाले मृतकको टाउकोमा हानेको र त्यसले गर्दा नै मृत्यु भएको देखियो,’ एसपी कार्कीले भने ।मादक पदार्थले मात्तिएका खिम बहादुरले जबरजस्ती गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
गरगहना लिएर ढोकामा बाहिरबाट चुक्कुल लगाइदिए । त्यहाँबाट हिँडेर पोखरा-२५ हेमजाका एक आफन्तकोमा बास बसे । उनले हत्या गरेर लुटपाट गरेको मोबाइलको खोल र ब्याट्री माछापुच्छ्रे-५ रिभान स्थित खहरेखोलामा फालिदिए ।
पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले त्यहीँबाट मोबाइल फेला पारेको छ । भोलिपल्ट बिहानै आफन्तकोबाट निस्किए । लेखनाथ पुगे । त्यहाँ आफूसँग भएका केहि सुन बेचे । फेरि तनहुँतर्फ हानिए । त्यहाँ बाँकी भएको सुन बेचे ।
सुन बेचेर आएको पैसाले फर्निचर किने र ब्यास–१ भादगाउँमा डेरा गरेर बस्न शुरु गरे । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी तनहुँबाट पक्राउ परे ।
एसपी कार्कीले भने – ‘सुन बेचेर तनहुँमा डेरा बस्न थालेका रहेछन् । अनुसन्धान गर्दै जाँदा तनहुँबाट समात्न सफल भयौँ ।’
कसरी थाहा भयो घटना ?
चिजाको घर आसपास दुई वटा घर मात्र थियो । एउटा आफ्नै पुरानो घर अनि अर्को छोराको । दुई दिनसम्म छिमेकीले पनि उनलाई कतै देखेनन् । त्यसपछि उनको खोजी शुरु भयो ।
सबै उनको घर पुगे । घरको झ्याल खोलेर हेर्दा दुर्गन्ध आयो । सबै जना बाहिरबाट लगाइएको ढोका खोलेर दुर्गन्ध आएको ठाउँमा पुगे । खाटमा हेर्दा सबै झसङ्ग भए । खाटमा उनी मृत भेटिइन् ।
गाउँभर हल्ला फैलियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले श्रीपालीलाई तनहुँबाट समात्यो ।
सुन किन्नेलाई पनि कारबाही
प्रहरीले हत्या गर्ने श्रीपालीलाई मात्र होइन बिना प्रमाण बेच्न लगिएको सुन खरिद गर्ने सुन पसलेलाई पनि नियन्त्रणमा लिएको छ । परिचय भने खुलाइएको छैन । पसलेलाई बेचेकाे सुन प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका श्रीपाली रोजगारीको क्रममा ७ वर्ष कतार बसेको देखिएको छ । मजदुरी गर्ने उनका ५ श्रीमति छन् । साथै उनले चिनजान भएकासँग समेत विभिन्न बहानामा पैसा लिएर ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनी माथि दुई वटा शीर्षकमा मुद्धा दर्ता गरिएको छ । उनी बिरुद्द कर्तब्य ज्यान र डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको एसपी कार्कीले जानकारी दिए ।


