
पोखरा । आज पुस १५ । तमु ल्होसार । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएकोे तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले आज मंगलबार (पुष १५) सार्वजनिक बिदा दिएको छ ।
मंगलबार प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् ।
सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारमा दिइदै आएको बिदा कटौती गरेको भन्दै सो समुदायले बिदा दिन माग गर्दै आएका थिए ।
तमु ल्होछारमा मेयर र उपमेयरको शुभकामना
तमु ल्होछारको अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले शुभकामना व्यक्त गरेका छन् । जिसी र गुरुङले सोमबार एक शुभकामना सन्देश दिँदै ल्होछारको अवसरमा देश र विदेशमा रहनु भएका सम्पूर्ण गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।
‘विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्पराको फूलबारी नेपालमा, यस्ता चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ हुने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘अनेकतामा एकता र धार्मिक सहिष्णुता नेपालीको पहिचान हो,’ जिसी र गुरुङको शुभकामना सन्देशमा भनिएको छ,‘एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि मनाउने हाम्रो सामाजिक चलनले सबै जातजातिको भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षणमा टेवा पुगेको छ ।’
यस पर्वको अवसरमा संविधानमा व्यवस्था भए अनुसार सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न महानगरपालिका कटिबद्ध भएको उल्लेख गरिएको छ । ‘महानगरको समग्र विकासमा सबै जातजतिको समान सहभागिता गराउन महानगरपालिका प्रतिबद्ध छ,’ सन्देशमा भनिएको छ, ‘गुरुङ समुदायको ऐतिहासिक थलो गण्डकी प्रदेशमा रहनुभएका गुरुङ समुदायसहित सबैमा, फोल्हो (मृग वर्ग) को बिदाइ र च्युल्हो (मुसा वर्गको आगमन), ल्होछारको अवसरमा आशिमलाँ (शुभकामना) व्यक्त गर्दछौं ।’
