पोखरामा बस, जिप र मोटरसाइकल आपसमा ठोक्कियो, दुई जनाको मृत्यु

Share:

पोखरामा ‘न्यू ईएर’ कै रात दुई जनाले ज्यान गुमाएका छन् । अन्य दुई जना घाईते भए । पोखरा महानगरपालिका–१४ चाउथेमा राति पौने ३ बजेतिरको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ भण्डारढिक सैनिक बस्तीमा बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई पोखरा चाउथे बस्ने १९ वर्षीय रोनश गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए । दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ । परियारको टाउको र छातीमा गम्भिर चोट लागेको स्थानियले बताए । काठमाण्डौ देखि बाग्लुङ आउँदै गर्दा दुर्घटनामा परेको ग१ख ९४०५ नम्बरको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डेढ वर्षअघि पनि चाउथेमा चार सवारी एक आपसमा ठाेक्किएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
Share: