राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज (शुक्रबार)विहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयनका लागि हिजो झण्डै ४ घण्टा चलेको बैठक विना निश्कर्ष सकिएपछि आज पनि बैठक बोलाइएको हो ।

आज बस्ने बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने बालुवाटार स्रोतले जनाएको छ। पर्सि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सकेसम्म आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभाको फागुनमा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। सदस्यका बैठकमा सभामुखको उम्मेदवार चयनबारे पनि छलफल हुनेछ। नेकपाभित्र सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भइसकेको छ।

तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा सुवास नेम्वाङ र अग्नी सापकोटामध्ये कसलाई पठाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छैन। पूर्वमाओवादीका तर्फबाट अग्नी सापकोटा र पूर्वएमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको नाममा छलफल अघि बढेको छ।

कमेन्ट गर्नुहोस्
Share: