
पोखरा । धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाएको आरोपमा पोखरामा एक व्यक्ति पक्राउ परेका छन्। धादिङग खनियाबास –२ स्थायी ठेगाना भएका २७ वर्षीय साँइला भन्ने दुर्गा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो । आफ्नो सही पहिचान समेत बदली उनी छदम परिचय बनाई कास्कीको चुम्राङ्गमा लुकेर बस्दै आएका थिए ।
प्रहरीका अनुसार दार्खामा शिव थापाको हत्यामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत धादिङले ५ वर्ष कैद तोकेको छ । यस्तै भिषण सिम्खडा हत्या आरोपमा पनि अदालतले ५ वर्ष नै कैद सुनाएको छ ।
यस्तै धादिङको खनियाबास १ स्थित पर्चे भन्ने स्थानमा उनले कैशाल दीक्षितलाई खुकुरी देखाउँदै ६ लाख १० हजार लुटेर फरार रहेको पनि प्रहरीले जनाएको छ । सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।
