
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा झडप भएको छ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामै झडप भएको हो । सोमबार एक–अर्काविरुद्धको खेलका लागि मैदान उत्रिएका दुवै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो ।
दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ । अहिले नेपाल फुटबल संघको समन्वयमा दुवै टोलीका खेलाडीबीच विवाद मिलाउने काम भइरहेको छ ।
खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए । ए डिभिजन लिगको उपाधी दाबेदार मानिएका मनाङ र मच्छिन्द्रबीचको सोमबारको खेल भने २–२ को बराबरीमा सकिएको छ । दुवै टोलीले खेलको निर्धारित समयसम्म २–२ गोल गर्न सके । मनाङका लागि फेमी जोसुवा र विमल रानाले १–१ गोल गरे भने मच्छिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले १–१ गोल गरे ।
