एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरे

Share:

काठमाडौं- सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन्। स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ।

बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए। उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। गत वर्ष पनि यही हाराहारीमै स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुर पुगेको समितिले जनाएको छ ।

बेमौसममा बन्दीपुरमा चिनियाँ पर्यटक अत्यधिक रहने गरेका छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी रहने गुरुङले जानकारी दिए। हाल बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेका छन्।

बन्दीपुरमा स्वदेशी तथा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीले सुविधासम्पन्‍न होटल खोल्ने क्रम वृद्धि भएको छ। होटल व्यवसायीसमेत रहनुभएका पर्यटन विकास समितिका अध्यक्ष गुरुङले हालै मात्र रु आठ करोडको लगानीमा होटल दरबार हिमालय सञ्चालनमा ल्याएका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दीपुरमा ९-१० होटल निर्माणाधीन अवस्थामा रहेको छ। नेपाल भ्रमण वर्ष २०२० मा बन्दीपुरमा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: