व्यापार मेलाको सोमबार समापन हुँदै, आजसम्म ९० हजार दर्शकले अवलोकन गरे

Share:

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन हुँदैछ । मेला समापनअघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु बहिनी समूह काठमाण्डौ र लोकदोहोरी प्रतिष्ठान गण्डकी भिड्दैछन् ।

मेला समापनको कार्यक्रम साँझतिर आयोजना गरिनेछ । मेलाअन्तर्गतका अन्य गतिविधिहरु जारी रहने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । संघका महासचिव अर्जुन पोखरेलका अनुसार आइतबारसम्म करिब ९० हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगिता अमृता सुनार पहिलो गणेश तामाङ दोस्रो विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले क्रमशः २०,१५,१०,५ र २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट नृत्य निर्देश राहलु थापा घोषित भए । उनलाई पनि नगद २ हजार, मेडल र प्रमाणपत्र दिइएको छ । आइतबार पप तथा सुगम संगीतका चर्चित हस्ती प्रमोद खरेल र सन्तोष बस्यालले दर्शक तताए ।

लोकदोहोरीतर्फ सीता परियार, राजु गुरुङ, शान्ति डोटेल, सुनिता नेपाली, माधव चापागाई, दीपक गदाल, सुरेश राना मगरको प्रस्तुति पनि जोडदार रह्यो । चम्सुरी र दाह्री बाको हाँस्य प्रहसनले पनि दर्शक हँसायो । सोमबार पपतर्फ ओम गुरुङ तथा लोकदोहोरीतर्फ शर्मिला गुरुङ, रेनु केसी, पूजा गुरुङ, तारानाथ आचार्य, टेक क्षेत्री, ज्ञानेश्वर क्षेत्री लगायतको प्रस्तुति रहनेछ ।

आइतबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान ४० रुपैयाँतर्फको टिकट नम्बर १५७५ लाई र ६० रुपैयाँतर्फको टिकट नम्बर १०६१८ लाई तथा ३२ इञ्चको टिभी उपहार १८८९३ नम्बरको टिकट लिएर मेला प्रवेश गर्ने पर्वत धाइरिङका सागर गिरिले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए । सागरलाई मेला परिसरमै आयोजित कार्यक्रममा टिभी उपहार प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: