
पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर १८ सराङकोटस्थित जामुनबोटमा बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन गर्न समिति गठन गरेको छ । पार्क व्यवस्थापन समितिमा मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ संरक्षक छन् ।
समितिको अध्यक्षमा पोखरा १८ का अध्यक्ष रणबहादुर थापा छन् । समितिको उपाध्यक्षमा स्थानीय समाजसेवी र महानगरबाट मनोनीत गरी ३ जना छन् । स्थानीयबाट भरतबहादुर थापा र महानगरबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र चित्रराज बराल उपाध्यक्षमा मनोनित भए ।
समितिको सदस्य सचिवको जिम्मेवारी मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले पाएका छन् । समितिका सदस्यमा सन्तोष शर्मा, राधा तिमिल्सिना, प्रकाश लामिछाने, राजु पौडेल, गोपाल खड्का र भोजराज गौतम छन् ।
पार्कमा पृथ्वीनारायण शाहसहित केही सहिदका शालिक निर्माण भइसकेका छन् । पार्कमा १ सय ८ राष्ट्रिय विभूति तथा सहिदका शालिक राख्ने योजना छ । महानगरले पार्कसँगै रहेको खुला व्यायामशाला पनि व्यवस्थापन गर्ने तयारी गरीरहेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
