आज माघे संक्रान्ती धुमधामका साथ मनाइँदै, राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना

Share:

पोखरा । आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ती पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
मगर समुदाय लगायत थारु, कुमाल लगायत आदीबासीहरुले माघे संक्रान्तिमा विभिन्न कार्यक्रम आयोजना गरि एक आपसमा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भन्ने प्रचलन छ । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज तनहुँको देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ । माघिको अवसरमा काठमण्डौंमा बस्ने थारुहरुले आज टुँडिखेलमा सामुहिक कार्यक्रम गर्दैछन् ।

यस्तै मगर समदायले पनि आज माघे सकराति मनाउँदैछन् । काठमण्डौंको टुँडिखेलमा विभिन्न मगर संघसंस्थाहरुले सामुहिक खानपिन र नाचगानलगायतका कार्यक्रम आज दिउँसो गर्दैछन् । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको मगर संघ नेपालले जनाएको छ ।

यसैबीच राष्ट्रपति विद्याम भण्डारी उपराष्ट्रपति नन्नदबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । पर्वले राष्ट्रिय एकता र नागरिकबीच भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने नेताहरुको शुभकामना सन्देशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: