
पोखरा । पोखरामा आउँदो माघ ६ गतेदेखि अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइ खलक पोखराको आयोजनामा तेश्रो स्व. रन्जित गुरूङ स्मृति एवं नवौं संस्करणको एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको हो ।
माघ ११ गतेसम्म हुने प्रतियोगिताको पुरस्कारको राशि यस वर्ष बढाइएको छ । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा गएको ४ वर्षदेखि नबढेको पुरस्कार राशि यस वर्ष रू ११ हजार बढाएर एक लाख ११ हजार प¥याइएको जानकारी दिइएको हो ।
खेल प्रतिको अभिरूचि वृद्धि गर्न आयोजित प्रतियोगितामा यस वर्ष प्रथम हुने एक टिमले रू एक लाख ११ हजारका साथमा रनिङ शिल्ड, पदक र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले रू ५५ हजार ५ सय ५५ का साथै ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजक संस्थाका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिए ।
अयोजकले यस वर्षदेखि सेमिफाइनल पुग्ने सबै टिमलाई प्रोत्साहन स्वरूप रू १० हजार प्रदान गर्ने भएको छ । यसबाहेक उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित रू ५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित रू १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । अध्यक्ष गुरूङका अनुसार अनुशासित टिम, म्यान अफ दि म्याच र प्रतियोगितामा सहभागि हुने ज्येष्ठ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न रू १४ लाख ५० हजार खर्च लाग्ने उनले बताए । प्रतियोगितामा दुई विदेशी क्लबसहित २६ क्लबको सहभागिता रहने छ । त्यसमा १९ टिम कास्की जिल्ला बाहिरका रहने छन् । प्रतियोगिता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । गएको वर्ष भएको आठौँ संस्करणको उपाधि ए.बि.सी, पोखराले हात पारेको थियो ।
स्व. रन्जित गुरूङ पोखराको खेलकुद विकासमा लागेका सक्रिय व्यक्ति हुन् । उनी पोखराको पृथ्वी नारायण क्याम्पसका खेल शिक्षक थिए । पोखरामा रहेर खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै उनलाई तत्कालिन पोखरा उप–महानगरपालिकाले पोखरा रत्नबाट सम्मान गरेको थियो । परिवारको मुख्य प्रायोजन रहने गरी उनकै सम्झनामा प्रतियोगिता हँदै आएको छ ।


