हिउँपहिरोमा हराएकाहरू अझै भेटिएनन् (अडियोसहित)

Share:

पोखरा । अन्नपूर्ण आधार शिविर पदमार्गमा हिउँपहिरोमा हराएका ४ कोरियन र ३ नेपाली नागरिक अझै भेटिएका छैनन्। गएको शुक्रबार आएको हिउँपहिरामा हराएका उनीहरूको खोजीमा बाक्लो हिउँ बाधक बनेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल, पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

हिमपहिरो गएको क्षेत्रमा ७ फिटसम्मको हिउँ जमेको छ । बेपत्ता हुनेमा कोरियाका ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा, ३८ वर्षीया चोई ह्यो, नेपाली नागरिक सरोज परियार, मीन बहादुर लामा र छिरिङ भोटे छन्।

हिउँ नपग्लिँदासम्म खोज्न सक्ने अवस्था नरहेको अध्यक्ष भुजेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए । मौसमले साथ दिए सोमबार भने कोरियन रेस्क्यु टोलिसहितको हेलिकोप्टर खोजीका लागि जाने बताइएको छ ।

हराइरहेकाहरुको खोजीमा संघ र प्रदेश सरकारले कुनै चासो नदिएको अध्यक्ष भुजेलको गुनासो छ । भ्रमण वर्ष मनाइरहेका बेला भएको घटनाले गलत सन्देश प्रवाह हुने बताउँदै उनले भने, ‘सरकारले कुनै समन्वय गरेको छैन । खोजीका लागि पर्यटक प्रहरीले राम्रो साथ दिएको छ । एकजना प्रहरी उद्दार टोलिमा हुनुहुन्छ ।’

आफ्ना देशका नागरिक हराएपछि कोरियाली पक्ष भने निरन्तर खोजीका लागि लागेको छ । शनिबार नेपालस्थित कोरियन दूतावासले खोजीका लागि हेलिकोप्टरसमेत पठाएको थियो ।

शनिबार मात्र जोखिम भएको क्षेत्रबाट १३० जनाको उद्दार गरिएको थियो । उनीहरु मध्ये ६४ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइएको थियो ।

सुनौँ अध्यक्ष भुजेलसँग गरिएको कुराकानी::

तस्बिर सौजन्य – टान पोखरा 

कमेन्ट गर्नुहोस्
Share: