
काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
मौन अवधि शुरू भएपछि दलहरू वा उम्मेदवारले मतदातासँग मत माग्न वा कुनै पनि माध्यमद्वारा चुनावी प्रचारप्रसार सञ्चालन गर्न पाउने छैनन् ।
मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ ।
