
पोखरा । सबैका लागि पढाइ परियोजनाअन्तरगत पोखरामा सोमबारदेखि अपाङ्गता र समावेशी शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको उद्घाटन सत्रमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले अपाङ्गतावादी हुन अपाङ्गमैत्री मानसिकता विकास हुन जरुरी रहेको बताए । उनले भने, ‘अपाङ्गमैत्री मानसिकता नै विकास नभए जति नै अपाङ्गतावादी भए पनि काम लाग्दैन ।’ शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकोमा जोड दिँदै अधिकारीले अपाङ्गमैत्री समावेशी शिक्षा नीति कार्यान्वयन गर्न सबैले सकारात्मक सोचसहित काम गर्नुपर्ने विचार व्यक्त गरे । अपाङ्गताको वर्गीकरण १० प्रकारका गर्ने र परिचयपत्र चाहिँ ४ प्रकारको मात्रै वितरण गर्नु व्यावहारिक नभएको समेत उनको टिप्पणी थियोे ।
गण्डकी प्रदेशका शिक्षा विकास निर्देशक तिलकप्रसाद सिलवालले कम्तीमा पनि एक निर्वाचन क्षेत्रमा एउटा अपाङ्ग आवासीय विद्यालय स्थापना हुनुपर्ने आवश्यकता औंल्याए । आयोजक स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङले भावनामा बगेर मात्रै अपाङ्गताको समस्या समाधान नहुने बताए । समस्याको पहिचान गरी प्राविधिक रूपमा बुझाइ र सीप विकास गरे मात्रै समस्याको न्यूनीकरण हुने उनको धारणा थियोे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका कास्कीका प्रमुख नारायणप्रसाद अपाङ्गता भएकै कारण कसैले विद्यालयमा भर्ना हुन नपाउने अवस्थाको अब पूर्ण निर्मूल हुनुपर्ने तर्क गरे । राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गतासम्बन्धी शब्द चयनदेखि व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रकी महासचिव अञ्जना केसीको स्वागतमा भएको कार्यक्रम निशा सुनारले सञ्चालन गरेकी थिइन् ।
समावेशी शिक्षाको अवधारणा, परिचय, नीतिलगायतको केन्द्रमा अपाङ्गतालाई राखेर प्रशिक्षक तयार पार्ने र हरेक पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकलाई प्रशिक्षण दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
यु.इस.ए आइ.डी. को आर्थिक सहयोगमा ह्युम्यानिटी एण्ड इनक्ल्युजन एच.आइ., विश्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्र सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा शुभेच्छा कार्की, मोहन भुर्तेल, रामलाल धामी, सीमा आचार्य, रीना शाक्यलगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
माघ १० गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखहरु, शिक्षासँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको छ ।


