
पोखरा। सरकारले अब ठूला क्षमताका जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो ।
रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले मुलुकको औद्योगिकीकरण र व्यावसायिकीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए ।
ऊर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्त्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे । अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गरे ।
आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्वास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए ।
