
मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्ति क्षेत्रमा तेस्रो स्की च्याम्पियनसिप सम्पन्न भएको छ ।
मुस्ताङलाई स्की हबको रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल स्की संघको आयोजनामा शनिबारदेखि शुरू भएको च्याम्पियनसिप सोमबार विधागत प्रतियोगिता भएसँगै सम्पन्न भएको हो ।
विभिन्न ३ वटा विधामा संचालित प्रतियोगितामा सबै गरेर ३४ जना सहभागी भएको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए ।
च्याम्पियनसिपमा अल्पाइन विधामा पुरुष र महिलातर्फ क्रमश: साहासराम श्रेष्ठ र गौरी माया तामाङ प्रथम भए । सोही विधामा पुरुषतर्फ सुकदेव थापा र प्रगुन महर्जन द्वितीय र तृतीय हुन सफल भएका छन् ।
महिलातर्फ क्रमशः संगीता लामा र लक्ष्मी राईले द्वितीय र तृतीय स्थान हात पारे । अल्पाइन विधाको जुनियरतर्फ सागर तामाङ र लाक्पा दोमा शेर्पा प्रथम भएको आयोजकले जनाएको छ ।
यस्तै जुनियर पुरुषतर्फ उमङ्ग रन्जित द्वितीय र क्षितिज कुमार रन्जित तृतीय भए । महासचिव श्रेष्ठका अनुसार जुनियर महिलातर्फ आयुषी महर्जन द्वितीय र उजला मुनिकार तृतीय हुन सफल भएका छन् । स्नो बोर्डतर्फ विशाल तामाङ प्रथम, नवीन तामाङ द्वितीय र छिरिङ तामाङ तृतीय भए ।
क्रस कन्ट्री विधामा क्रमश: सुजाता नामपुर, ईशा तामाङ प्रथम र द्वितीय भए । यसबाहेक थुप्तेन तामाङ तृतीय हुँदा छिमार तामाङले सान्त्वना स्थान हात पारे ।
च्याम्पियनसिपमा विभिन्न स्थान प्राप्त गरेका खेलाडीलाई नेपाल स्की संघका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य महेन्द्र बहादुर थकाली, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेपाल स्की संघका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य श्रेष्ठले मुस्ताङ स्कीका लागि उपयुक्त गन्तब्य भएको बताए। उनले स्की खेलको विकासका लागि आफू लागि परेको स्पष्ट पारे ।
`हामीले नेपालमा स्की खेलका लागि मुस्ताङलाई उत्कृष्ट गन्तब्य मानेका छौँ । मुस्ताङमा स्कीका लागि आवश्यक पूर्वाधार पनि छ।´ उनले भने, `स्की संघ यसका लागि लागिपरेको छ ।´
संघले शनिबार र आइतबार स्की तालिम पनि संचालन गरेको थियो । मुस्ताङमा हिउँले सेताम्मे पहाड सधैं देखिने गरेपनि चिप्लेटी खेल्दै रमाइरहेको दृश्य देखिन थालेको दुई वर्ष भयो । खेल्नेले मात्र होइन हेर्नेले पनि बेग्लै अनुभूति गर्छन् ।
हिउँमा खेलिने साहसिक खेल स्कीका लागि मुस्ताङ उपयुक्त ठाउँ मानिन्छ । नेपालमा स्की प्रतियोगिता संचालन भएको तीन वर्ष भएको छ । पहिलोपटक दुई वर्ष अगाडि रसुवाको लाङटाङमा प्रतियोगिता गरिएको थियो ।
चिसो बढ्ने भएकाले मुस्ताङमा मंसिरदेखि माघ अन्त्यसम्म पर्यटकको चहलपहल कम हुन्छ । स्कीले बेमौसममा पनि मुस्ताङमा पर्यटकको आवागमन बढाउने र खेल पर्यटनको विकास हुने आयोजकको विश्वास छ ।
यातायात, होटललगायत स्कीका लागि सबै पूर्वाधार भएकाले संघले गएको वर्षदेखि मुस्ताङलाई प्राथमिकता दिएको छ । अहिले चिसो बढेकाले मुस्ताङमा खासै पर्यटक छैनन् । मुस्ताङका आधा जति स्थानीय चिसो छल्न जिल्ला बाहिर पुगेका छन् ।








