
दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो ।
सात/आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज बिहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।
हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । गत बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
यता कास्कीमा पनि बिहिबार मात्र पोखरा ३२ कोठेडाँडामा सात वर्षीय पुजा बिकको मृत्यु भएको थियो। छिमेकीको घरबाट खेलेर अबेरसम्म घर नफर्किएपछि खोजिगर्ने क्रममा बाटो तल नजिकैको जङ्गलमा बालिकाको शव छेदविच्छेद अवस्थामा भेटिएको थियो ।
दीपक बिक र अप्सरा बिककी छोरी पुजा चन्द्र ज्योति स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् ।
