
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ का गाउँलेमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । आज विहानसम्म बिरामीको संख्या २ सय १ जना पुगेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण उनीहरु थलिएका अध्यक्ष श्रेष्ठले बताए।
तामाङ समुदायको बाक्लो बस्ती भएका कारण प्रकोप तिब्ररुपमा फैलिन सक्ने भएकाले आज केही मास्क र औषधीसहित त्यसतर्फ जान लागिएको अध्यक्ष श्रेष्ठले बताए।
कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाइको छ । साथै संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
गाउँपालिका कार्यालयले विरामीमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको भन्दै रोग पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष टोली पठाइदिन पत्राचार पनि गरेको छ।
