
काठमाडौं । आज विश्व रेडियो दिवस । नेपालमा पनि भिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो ।
सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो ।
नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको सङ्ख्या ८ सय ४० भन्दा माथि पुगेको छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या ७ सय ६५ छ।
