
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दल, स्थानीय तह र बेनी–जोमसोम सडक आयोजना तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति तथा विस्तारका लागि दैनिक ८ घण्टा बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म र दिउँसो २.३० देखि ६.३० बजेसम्म सवारी रोकेर सडक निर्माणको काम गर्ने निर्णय भएको हो।
२०६५ मंसिरमा सक्ने लक्ष्य रहेको आयोजनाको हालसम्म करिब साठी प्रतिशत मात्र भौतिक प्रगति छ। बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ।
