जब महिनावारी परिक्षणका लागि कपडा खोल्न लगाइयो …

322
0
Share:

भारतको गुजरात राज्यमा रहेको क्याम्पसका छात्राहरुलाई उनीहरु महिनावारी भए नभएको जाँच गर्नका लागि कपडा खोल्न लगाएको घटना सार्वजनिक भएको छ ।

गुजरातको भुज शहरमा रहेको श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एसएसजिआई) को छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राहरुले महिनावारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए ।

सो गुनासो पछि स्वामीनारायण संप्रदायको नियम अनुसार छात्राहरुलाई महिनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो । स्वामीनारायण संप्रदायको नियम अनुसार महिनावारी भएका बेला महिलाहरु मन्दिर तथा भान्छामा जान पाउँदैनन् ।

महिनावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्राहरुलाई अण्डरवेयर खोल्न लगाएर त्यसको निर्क्यौल गरिएको आरोप छ । सो क्याम्पसकी एक छात्राले भनेकी छन्, ‘फेब्रुअरी ११ मा होस्टर तथा क्याम्पसअघि हामीलाई एक–एक गरेर बाथरुपममा लगियो र अण्डरवेयर खोलेर हेरियो कि महिनावारी भएको छ वा छैन ।’

ती छात्राले भनिन्, ‘उनीहरुले हामीलाई छोएनन् र उनीहरुको कुराले हामी निकै भयभित भयौँ, आफ्नो कपडा खोलेर प्रमाण दिन बाध्य भयौँ ।’

घटनाले आफूहरुमा गहिरो मानसिक असर परेको र यो घटनाविरुद्ध कानूनी कारवाही हुनु पर्ने उनीहरुले बताएका छन् ।

विश्वविद्यालयकी कार्यकारी काउन्सिल सदस्य प्रवीण पिंडोरियाले छात्राहरुले होस्टेल छोडेमा मात्रै कानूनी कारवाही गर्न सक्ने बताएको छात्राहरुको भनाई छ ।

क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरुलाई भावुक बनाएर ब्ल्याकमेल (भयादोहन) गरेको छात्राहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: