
काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणबाट फ्रान्समा पनि एक चिनियाँ पर्यटकको ज्यान गएको पुष्टि भएको छ ।
शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले एक ८० वर्षीय चिनियाँ पर्यटकको ज्यान गएको जानकारी दिए । फ्रान्समा ज्यान गुमाएका चिनियाँ पर्यटकको जनवरीको अन्त्यतिर पेरिसमा रहेको उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उनको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो ।
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट ज्यान गएको यो पहिलो पटक हो । फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
यो सँगै कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको ज्यान गएको छ ।
यस्तै, कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ । नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
