तीन गोही मृत भेटिए, सातवटा जालमा

369
0
Share:

चितवन । राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अङ्ग पठाइएको छ । यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो ।

त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ । राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ । मुखमा बेरिएको अवस्थामा गोही फेला परेका हुन् ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडिसकिएको छ। ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ। निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ।

पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ। यस वर्ष यसै महिनाबाट प्रजनन् केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ। नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्। सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।

कमेन्ट गर्नुहोस्
Share: