
काठमाण्डाै – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आग्रह गरे।
‘सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काङ्ग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनर्स्थापना हुन्छ’, सभापति देउवाले भने ।
तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उनले आग्रह गरेका छन् ।
