
तनहुँ। तनहुँमा आइतबार बस दुर्घटना भएको छ । जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटनामा परि ४३ जना घाइते भएका छन्।
दमौलिबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली आउँदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको छ । ना ५ ख २८५६ नम्बरको बस चालक भरतपुर उपनगरपालिका १४ का ४६ वर्षीय ढकमणि महतो सहित ५ गम्भीर घाइते भएको प्रहरीले जनायो। ती मध्य ३ जनालाई चितवन मेडिकल कलेज र २ जनालाई पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ।
दुर्घटनामा घाइते भएका अन्य २२ जनाको दमौलि स्थित रत्नहरि अस्पतालमा र १३ जनाको एपोलो अस्पतालमा उपचार भइरहेको छ । बाँकी ३ को भने दमौली अस्पतालमा उपचार भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेमध्य ४ जना उपचारपछि घर फर्किसकेका छन् ।
