नेपाल पुलिस आहा ! रारा गोल्डकपको सेमिफाइनलमा, घरेलु क्लब सहारा पराजित

Share:

पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपमा नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रङ्गशालामा भएको क्वाटरफाइनलको पहिलो खेलमा घरेलु क्लब सहारालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेपाल पुलिस क्लबले लिएको अग्रता जोगाउन नसक्दा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा पुलिसका लागि भरत शाह, सौजन्यका राई, होम तामाङ र सुमिन सुवेदीले गोल गरे । यस्तै अनुप लिम्बुको प्रहार सहाराका किपर अर्पण कार्कीले जोगाए ।

सहाराका आशिस गुरुङ, अजय श्रेष्ठले गोल गरे । सिमि उल्रिचको बल पुलिसका किपर रोशन खड्काले बचाउन सके । सहाराका त्रिदेव गुरुङ ले पेनाल्टी मिस गरे, उनको सट बाहिरिएको थियो ।

यसअघि पुलिसका लागि भरत शाहले खेलको ७४ औँ मिनेटमा गरेका थिए । उनले डि बक्स भित्रबाट उत्कृष्ट लेफ्ट फुटेड भली गोल गरे । पहिलो हाफमा कडा टक्कर दिएको सहारा दोस्रो हाफमा भने केही कमजोर देखिएको थियो।

तर खेलको अतिरिक्त समयको ९३ औँ मिनेटमा अजय श्रेष्ठले गोल गर्दै सहारालाई खेलमा फर्काएका थिए । कप्तान मान बहादुर तामाङ्ले अन्जन राईको गल्तिको फाइदा उठाउँदै अजयलाई पास गरेका थिए, जुन गोलमा परिणत भयो ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेललाई अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ समेत बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा सहाराले निकै राम्रा मौका पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

सहाराका भारतीय खेलाडी स्टिभन समिरले तीन उत्कृष्ट मौका चुकाउँदा सहाराले अतिरिक्त समयमा अग्रता बनाउन सकेन । अतिरिक्त समयमा कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि पुलिस केही समय १० खेलाडीमा सिमित भएको थियो ।

यसअघि बिहिबार भएको पहिलो खेलमा सहाराले ब्रिगेड ब्याइज क्लबमाथि ३–२ को जित दर्ता गराएको थियो । पुलिस भने बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेको हो ।

अब सेमिफाइनलमा पुलिसले थी्र स्टार र गान्टोक सिटी एफ.सि भारत बिचको बिजेतासँग खेल्नेछ । भोली आइतबार झापा-११ र मनाङ मस्र्याङ्दीबिच हुनेछ ।

प्रतियोगितामा आयोजक सहारासँगै ब्रिगेड, नेपाल पुलिस, गान्तोक सिटी भारत, थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल एपीएफ क्लब, झापा ११, संकटा क्लब र त्रिभुवन आर्मीले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: